दफा १०
प्रदेश प्रहरी प्रमुखमा खटाउने
(१) नेपाल सरकारले नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षकलाई प्रदेश प्रहरीको प्रमुखको रुपमा खटाउनेछ।
(२) प्रदेश प्रहरी प्रमुखको रुपमा खटिएको प्रहरी कर्मचारीले प्रदेश प्रहरीको दर्ज्यानी चिह्क लगाई प्रदेश प्रहरीको रुपमा काम गर्नु पर्नेछ।
(३) प्रदेश प्रहरी प्रमुखको पारिश्रमिक तथा सुविधा सङ्घीय कानूनले तोकेको मापदण्डको अधीनमा रही प्रदेश कानून बमोजिम हुनेछ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रदेश प्रहरी प्रमुखले पाउने पारिश्रमिक तथा सुविधा नेपाल प्रहरीको समान पदले पाउने पारिश्रमिक तथा सुविधाभन्दा कम हुने छैन।
(५) प्रदेश प्रहरी प्रमुखको रुपमा खटिएको प्रहरी कर्मचारीलाई नेपाल सरकारले सम्बन्धित प्रदेश सरकारको समन्वयमा अन्य प्रदेशमा वा नेपाल प्रहरी अन्तर्गतको कुनै निकायमा सरुवा गर्न सक्नेछ।